
झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा व्यस्त ओलीले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार तथा प्रचारकलाई मतदातासँग आँखामा आँखा जुधाएर संवाद गर्न आग्रह गर्नुभएको हो ।
ओलीले कार्यकर्तालाई भन्नुभएको छ, ‘मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस् । उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस् । एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो ।’
उहाँका अनुसार परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर मागिनुपर्छ । ‘बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ । मतदातालाई डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने अवसर दिनुपर्छ ।’

अध्यक्ष ओलीले थप्नुभएको छ, ‘साइको थ्रेट’को राजनीतिले चुपचाप छाप भन्दै उक्साउँदैछ । तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।
‘चुपचाप छाप होइन, सोचीविचारी छाप । आँखा खोलेर भविष्य निर्माण’ उहाँले आफ्नो सामाजिक सञ्जालमा आह्वान गर्नुभएको छ ।
झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार ओली हिजोआज निर्वाचन क्षेत्रमा मतदाता भेट गर्ने र उनीहरुका माग, गुनासा र सूझाव सुनिरहनु भएको छ।


