२०८२ माघ २३ शुक्रवार , ०५:२४:१३ बजे

Sajhamanch
'

दुर्गा प्रसाईं फेरि पक्राउ

शुक्रवार, माघ २३, २०८२

काठमाडौँ । सधैं विवादास्पद अभिब्यक्ति दिएर चर्चा कमाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट प्रहरीले आज फेरि पक्राउ गरेको छ ।

वीरगञ्जमा कार्यक्रम गर्ने तयारीसँगै काठमाडौंबाट त्यता जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरीले साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको बताइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले वीरगन्जमा कार्यक्रम गर्ने योजना बनाए पनि उनलाई स्थानीय प्रशासनले अनुमति दिएको थिएन ।

प्रसाईंले भने अनुमति नपाए पनि घन्टाघरमा कार्यक्रम गर्ने अडान राखेका थिए । हिजोमात्रै अभियानका जनकपुर संयोजक विजय थापाले दुर्गा प्रसाईंको सम्बोधन हुने उक्त कार्यक्रमलाई ‘विशाल नागरिक सभा’ का रूपमा आयोजना गर्न लागिएको बताएका थिए ।

१९ माघमा दुर्गा प्रसाइ चितवन पुगेका थिए । त्यहाँ पनि उनले तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।