२०८२ माघ १८ आइतवार , ०७:०४:१६ बजे

Sajhamanch
'

अर्जुनधारामा १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आइतवार, माघ १८, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गर्नुभयो ।

माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा विधाका खेलमा प्रतिस्पर्धा हुने खेल संयोजक संजीव गोले तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराँते विधा समावेश गरिएको छ ।

प्रतियोगितामा अर्जुनधाराका २८ वटा माध्यमिक विद्यालयका करिब ४ सय विद्यार्थी सहभागी हुनेछन् । सहभागी खेलाडीहरूबीच ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गोम्देनले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूको पठनपाठनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदमा जिल्लामै सधैँ अग्रणी रहेको अर्जुनधारा नगरपालिकाले आन्तरिक प्रतियोगिताबाट समेत सक्षम र सफल खेलाडी उत्पादन गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले १८ वर्षभन्दा मुनिका विद्यार्थी तथा खेलाडीलाई सही प्रशिक्षण र अवसर दिन सके भविष्यमा उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतियोगिता मूल आयोजक समितिका सचिवसमेत रहनुभएका सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र खत्रीले गर्नुभएको थियो ।

प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरूमा आजैदेखि प्रतिस्पर्धा सुरु भएको छ ।

सम्बन्धित खबर