२०८२ माघ १३ मङ्गलवार , ०६:४२:२९ बजे

Sajhamanch
'

६ महिनामा झन्डै ६ लाख युवा विदेशिए, ठगिने क्रम पनि बढ्दो

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

यो सङ्ख्यामा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् जसमा ४ हजार ८६६ जना ‘जीटुजी’ (सरकार–सरकार) मार्फत इजरायल, कोरिया र बेलायत गएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २६२ जना र ३ लाख २५ हजार ४०७ जना म्यानपावर कम्पनीमार्फत गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ । खाडी देश, मलेशिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देश पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेशियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियामा भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।

५ हजार ७०० ठगीका उजुरी

नेपालीहरू विदेशिने क्रम बढेसँगै ठगिने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७६६ वटा उजुरी दर्ता भएका छन् ।

विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा २ हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५६१ वटा रहेका छन् ।

राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९० दशमलव १५ प्रतिशत व्यक्तिगत र ९ दशमलव ८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।

गएको आर्थिक वर्ष २०८१/८२ मा झन्डै ५ हजार वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षमा परेकाभन्दा धेरै उजुरी यस वर्षको ६ महिनामै परेको छ । रोजगारीमा जानेहरूको सङ्ख्या बढ्नु, युवाहरू युरोप रोजगारीको प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरू ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरू बताउँछन् ।

सम्बन्धित खबर