
विराटनगर । २३ र २४ भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कोशी प्रदेशसभा करिब चार महिनादेखि ठप्प अवस्थामा पुगेको छ ।
प्रदेशसभा सचिवालय, सभा हल र अन्य संरचनामा भएको क्षतिका कारण बैठक कहिले र कहाँ बस्ने भन्ने विषयको अझै टुंगो लाग्न सकेको छैन ।
आन्दोलनका क्रममा प्रदेशसभा बैठकस्थल र सचिवालयमा व्यापक क्षति पुगेपछि सातौं अधिवेशन असोज १० गते अन्त्य भएयता आठौं अधिवेशन आह्वान हुन सकेको छैन । भौतिक संरचना पुनःनिर्माण र वैकल्पिक सभा स्थलको अन्योलले प्रदेशसभाको नियमित कामकाज अवरुद्ध बनेको छ ।
कानुन अनुसार प्रदेशसभा छ महिनाभित्र बस्नुपर्ने व्यवस्था भए पनि चार महिना बित्न लाग्दा पनि बैठकको मिति तय हुन सकेको छैन । बैठक कहिले बस्ने भन्ने विषयमा सांसदहरूबीच मतैक्यता समेत नभएको प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काले जनाउनु भयो । उहाँका अनुसार केही सांसद चुनावपछि बैठक बस्नुपर्ने पक्षमा छन् भने केहीले चुनावअघि नै बस्नुपर्ने धारणा राखिरहेका छन् । ‘उहाँहरुबीच नै कहिले बैठक वस्ने भन्ने टुंगो छैन’, खड्का भन्छन्,‘अधिवेशन सरकारले आह्वान गर्ने हो । कहिलेसम्म गर्छ थाहा छैन ।’
प्रदेशसभा बैठक सञ्चालनका लागि कटहरीस्थित तरकारी बजार क्षेत्रमा रहेको संरचनालाई अस्थायी सभा भवनका रूपमा प्रयोग गर्ने चर्चा भए पनि तयारी सुरु भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयले मर्मतसम्भारको जिम्मा लिए पनि हालसम्म काम अगाडि बढ्न सकेको छैन ।
विराटनगर महानगर मातहतको वीरेन्द्र सभागृहलाई अस्थायी सभा भवनका लागि प्रयोग गर्न प्रदेश सभा सचिवालयले पहल थालेको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । मन्त्री पराजुलीका अनुसार बैठकका लागि सभागृह प्रयोग गरिने र त्यसबापत कोशी प्रदेशसभा सचिवालयले मासिक करिव ८ लाख भाडा भुक्तानी गर्नेछ ।
लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसक्दा कानुन निर्माण, नीति छलफल र संसदीय निगरानीजस्ता प्रदेशसभाका मुख्य जिम्मेवारी प्रभावित भएका छन् ।


