
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएसँगै ठूला दलका शीर्ष नेताहरूसहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ।
जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा उम्मेदवारको योग्यता र कानुनी हैसियतलाई चुनौती दिँदै दाबी तथा विरोधसहित उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीविरुद्ध उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता भएको हो।
पूर्वप्रधानमन्त्री नेपाल आफ्नो गृहजिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार छन्। उनीविरुद्ध काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै अन्तिम फैसला नआइसकेको अवस्थामा उम्मेदवार बन्न अयोग्य रहेको जिकिरसहित उजुरी परेको आयोगले जनाएको छ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका रेशम चौधरीविरुद्ध पनि उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
चौधरी कैलालीको टीकापुरमा भएको घटनामा नाबालकसहित ७ प्रहरी गरी ८ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन्। बाँकी सजाय राष्ट्रपतिबाट माफी मिनाहा भएपछि उनी रिहा भए पनि सजायमा सफाइ नपाएकाले उम्मेदवारी अयोग्य ठहर गर्न माग गर्दै उजुरी परेको जनाइएको छ।
यसैगरी सुनसरी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालबिक्रम थापाविरुद्ध पनि उजुरी परेको छ। भक्तपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतविरुद्ध उम्मेदवारी दिएका तथा सामाजिक सञ्जालमा सक्रिय रास्वपाका उम्मेदवार राजीव खत्रीविरुद्ध पनि उजुरी दर्ता भएको छ।
भक्तपुर क्षेत्र नम्बर–२ बाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक शोभाविरुद्ध समेत उजुरी परेको आयोगले जनाएको छ। शोभाले एमाले उम्मेदवार बस्नेतसँगको विवादबीच उम्मेदवारी दिएकी थिइन्।
निर्वाचन आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ताको समय तोकेको थियो। सो अवधिभित्र भक्तपुरबाट २ तथा रौतहट, सुनसरी र कैलालीबाट १–१ वटा गरी कुल ५ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।
दर्ता भएका उजुरीबारे बिहीबार छानबिन गरी आवश्यक निर्णय लिने तयारी आयोगले गरेको छ।


