
विराटनगर । फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशबाट ‘हेभीवेट’ नेताहरू चुनावी मैदानमा होमिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै विभिन्न पार्टीका शीर्ष नेताहरू उम्मेदवार बनेका हुन्। ‘जेन्जी’ आन्दोलनपछि फेरिएको राजनीतिक वातावरणका कारण यसपटक चुनावी प्रतिस्पर्धा अघिल्ला निर्वाचन जस्तो सहज देखिँदैन । परम्परागत प्रचार शैली फेरिएर डिजिटल माध्यममा केन्द्रित हुँदा स्थापित नेतालाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निकै सकस देखिएको छ ।
कोशी प्रदेशबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू प्रतिस्पर्धामा छन् । उनीहरू आफ्नो जितलाई निरन्तरता दिने दाउमा भए पनि बदलिएको चुनावी गणितले नतिजा आकलन गर्न कठिन बनाएको छ ।
चुनावी ‘इपिसेन्टर’ झापा–५
आगामी प्रतिनिधि सभा निर्वाचनको ‘इपिसेन्टर’ झापा क्षेत्र नम्बर ५ बनेको छ। यहाँबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् भने सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दिएका छन् । निर्वाचनमा एमालेले बहुमत ल्याए ओली प्रधानमन्त्री बन्ने सम्भावना छ भने रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । प्रधानमन्त्रीका दुई आकाङ्क्षी एउटै क्षेत्रमा भिडेका कारण यो क्षेत्र देशभरकै चासोको केन्द्र बनेको छ ।
अघिल्लो निर्वाचनमा ओली भारी मतान्तरले विजयी भएका थिए । बालेन शाह भने काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर ओलीसँग प्रतिस्पर्धा गर्न झापा पुगेका हुन् । यो क्षेत्रमा राप्रपाबाट लक्ष्मीप्रसाद सङ्ग्रौला, नेपाली काङ्ग्रेसबाट मन्दिरा चिमरिया पौडेल र नेपाली कम्युनिस्ट पार्टीबाट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ पनि मैदानमा छन् ।
झापा–२ मा सभामुख र उपसभामुखको प्रतिस्पर्धा
झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख र उपसभामुख आमनेसामने भएका छन् । एमालेका तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे र रास्वपाको तर्फबाट निवर्तमान उपसभामुख इन्दिरा रानाले उम्मेदवारी दिएका छन् । २०७९ को निर्वाचनमा घिमिरे यही क्षेत्रबाट विजयी भएका थिए भने राना समानुपातिक सूचीबाट निर्वाचित भएकी थिइन् । लामो समय सामाजिक अभियानमा सक्रिय राना र अनुभवी नेता घिमिरेबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
झापा–३ मा राजेन्द्र लिङ्देन
झापा क्षेत्र नम्बर ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । २०७४ र २०७९ को निर्वाचनमा एमालेसँगको तालमेलमा जित निकालेका लिङ्देनले यस पटक भने आफ्नै पार्टीको बलबुतामा चुनाव लड्नुपर्ने चुनौती छ । यहाँ एमालेले संविधान सभा सदस्य हरि राजवंशीलाई उम्मेदवार बनाएको छ ।
मोरङ–६ मा डा. शेखरलाई विनोद ढकालको चुनौती
मोरङ ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । यसअघि लालबाबु पण्डितलाई पराजित गरेका कोइरालालाई यसपटक एमालेका प्रभावशाली नेता विनोद ढकालले चुनौती दिएका छन् । कांग्रेसको विशेष महाधिवेशनमा कित्ता स्पष्ट नगरेको भन्दै पार्टीभित्रबाट कोइरालाप्रति केही असन्तुष्टि देखिएको छ । यो क्षेत्रमा रास्वपा बाट रुविना आचार्य, राप्रपाबाट सविन निरौला र नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय पनि प्रतिस्पर्धामा छन् ।
अन्य हेभीवेट नेताहरू
मोरङबाट नेपाली कांग्रेसले सुनिल शर्मा (क्षेत्र ३) र मिनेन्द्र रिजाल (क्षेत्र २) लाई उम्मेदवार बनाएको छ । रिजाल र शर्मा दुवै कांग्रेस राजनीतिमा प्रभावशाली मानिन्छन् । यस्तै, सुनसरी ४ बाट कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र ज्ञानेन्द्र बहादुर कार्की पुनः मैदानमा छन् । सुनसरी ३ बाट नेपाली कांग्रेसकै विजय कुमार गच्छदार आठौँ पटक उम्मेदवार बनेका छन्, जहाँ एमालेकी भगवती चौधरीसँग उनको कडा प्रतिस्पर्धा हुने देखिन्छ । भोजपुरबाट एमाले सचिव तथा पूर्व मुख्यमन्त्री शेरधन राई चुनावी मैदानमा छन् । यस्तै, रास्वपा बाट मोरङ ३ मा गणेश कार्की र झापा १ मा निशा डाँगीले उम्मेदवारी दर्ता गराएका छन् ।


