२०८२ पौष १० बिहिवार , ०३:४८:३७ बजे

Sajhamanch
'

न्यानोपन खोज्दै काँपिरहेको बाल मस्तिस्क

बिहिवार, पौष १०, २०८२
  • सञ्जु सिवाकोटी

हिउँद लागेसँगै यस वर्षको जाडो पनि शुरू भइसक्यो । चिसो आयो । झापा लगायत देशका विभिन्न भूभागमा चिसो अत्याधिक बढेको छ । चिसोले सबैलाई छोए पनि चिसो सहने समान शक्ति सबैमा हुँदैन। धेरै मानिस न्यानो लुगा र सुरक्षित बसोबासको अभावले सबैभन्दा ठूलो मारमा परिरहेका हुन्छ्न् ।जाडो मौसम अनि पर्याप्त मात्रामा कपडाको अभावले बुढाबुढी अनि बालबालिकाहरूको ज्यान जोखिममा रहेको हामीले धेरै विगतका वर्षहरूमा सुनेका, देखेका र भोगका छौं ।

एउटा समाज त्यता छ, जसलाई जाडोमा एकजोर तातो लुगा किन्न मुश्किल छ । अनि अर्को समाज जसले एउटा लुगा दोस्रो पटक लगाउनै खोज्दैन वा लगाउनु पनि पर्दैन । अभाव कस्तो हुन्छ महसुस गरेकै छैन । हाइफाई र विलासी जीवन बिताउनेलाई के थाहा ! एक जोडी न्यानो लुगाको महत्व । अनि त्यसले ल्याएको खुसी ।

चिसोले कठ्याङ्ग्रिने यो जाडो सबै बालबालिकाको लागि समान कहिलै भएन र आज पनि छैन । यही समाजका कोही बालबालिकाका लागि दिनैपिच्छे ब्राण्डेड लुगा फेर्नु कुनै ठूलो कुरा हुँदैन भने कसैको लागि वर्षमा एकजोडी तातो लुगा फेर्ने हैसियत पुदैन।

हामी झापामा छौं, विकसित जिल्ला भन्छौ तर यही ठाउँमा एकजोर तातो लुगा नफेरि धेरै बालबालिकाहरु हिउँद कटाउन बाध्य छन् । कतिपय समुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरूको आर्थिक पाटो दयनीय नै देखिन्छ । च्यातिएका लुगा, फाटेका जुत्ता र चिसोले चर्किएका खुट्टा लिएर काम्दै काम्दै स्कूल आउँछन् । तर उनीहरूको अनुहारमा कुनै अँध्यारोपन हुँदैन । केही गुनासो पनि हुँदैन । हुन्छ त केबल मुस्कान । मात्र मुस्कान ।

हाम्रो समाजमा धेरै सम्पन्न भनौं, हुनेखाने मानिस प्रसस्त छन् । ब्रान्डेड कपडा र सामानमा लाखौं खर्च गर्छन् । महँगा होटलमा सधैं धाइरहनु उनीहरुका लागि कुनै ठूलो कुरा हुँदैन । उनीहरूको त्यो दैनिकी हुन्छ । एकपल्ट सोचौँ त ! यदि एकदिन त्यो खर्च बचायौँ भने एउटा न्यानो स्वेटर, टोपी वा जुत्ता किनेर दियौँ भने कति बालबालिकाको शरीरलाई अनि चिसोलाई मात्र होइन, सपनालाई पनि बचाउन सक्छौँ भन्ने कुरा।

झापा विकसित जिल्ला भन्छौ । तर यहीँ झापामा कतिपय विद्यालयमा चिसोसँगै लड्दै, जुद्दै बालबालिकाहरू पढ्न बाध्य छन् । फेर्ने कपडाको अभाव छ । मैला र च्यातिएका कपडा महिनौँ लगाउँछन् र रमाउँछन् ।

पछिल्लो समय विवाह, जन्मदिन, गुनिउचोली, भात खुवाई, एनिभरसरी जस्ता विभिन्न उत्सवलाई खुब खर्चिलो गरेर मनाएको देखिन्छ । यो गर्नु गलत हो भन्न खोजेको पक्कै होइन। मान्छेको सपना हुन्छ, रहर हुन्छ, सोख हुन्छ । त्यो बेला गर्न पाइएन वा सकिएन आज मसँग प्रशस्त छ, अब सपना पूरा गर्छु भन्ने हुन्छ । जीवन न हो रहर र सपना त पूरा गर्नुपर्छ । तर रहर पूरा गर्दा लाग्ने खर्चको केही पर्सेन्ट जोगाऔं र सेवा गरौ भन्ने भावनाको विकास हुनु जरुरी छ ।

सहयोग ठूलो अनि धेरै गर्नुपर्छ भन्ने पनि होइन । एउटा न्यानो स्वेटर, मोजा, टोपी जुत्ता वा एकजोडी लुगाले पनि विपन्न बालबालिकाको जीवनमा ठूलो परिवर्तन आउन सक्छ। मानवीयता भनेको ठूला ठूला भाषणमा मात्रै होइन है, साना साना काममा झल्किने गुण पनि हो ।

देखावटी र तडकभडकलाई सधैं रोक्न सकिँदैन भने एकदिन रोकौं, विभिन्न सङ्घ संस्थाहरुले पनि महँगा तारे होटलमा हौसिएर, खर्चिएर मायाको चिनो र खादामा खर्चिनुभन्दा बरु प्रत्यक्ष समुदायमा गएर सहयोगको अभियान चलाए कति राम्रो हुन्थ्यो होला ।

हाम्रो समाजको विकास तब मात्र सम्भव छ, जब बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र सुरक्षामा विभेद भन्ने चिज टाढा रहन्छ ।

सम्बन्धित खबर