
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो ।
विभागले ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने’ व्यवस्था कार्यान्वयन गर्ने सबै सहकारी र सहकरी सञ्चालकहरुलाई निर्देशन दिएको हो ।
‘सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने ब्यबस्था र दफा ४४(१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने प्रावधानका छ ।’
विभागले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ, ‘ उक्त व्यवस्था कार्यान्वयनका लागि विभाग र सहकारी नियामक निकायहरुबाट निर्देशन तथा मापदण्ड जारी भएकोले केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भई रहेकोले निर्देशनका बाबजूत हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनु भएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानूनी प्रावधान कार्यान्वयन लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ ।’
सहकारी विभागले यसअघि पनि पटक पटक सहकारी सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिदै आएको थियो । प्रारम्भिक संस्थामा सञ्चालक समितिमा रहेकाहरु संघमा समेत पदाधिकारी बस्ने र दोहोरो पद धारणा गर्ने गलत अभ्यास सहकारीमा देखिँदै आएको छ । सहकारी विभागले २०८१ असार १९ र साउन १७ गते सहकारी सञ्चालकले दोहोरो पद धारण नगर्न निर्देशन दिएको थियो ।
त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि २३०८२ जेठ ९ गते बचत तथा ऋणको मख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरेको नियामकीय मापदण्डमा पनि एक समयमा एक सहकारीको मात्रै सञ्चालक हुन पाउने व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैंकबाट २०८१ चैत १४ गते जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड, २०८१ मा पनि एक समयमा एक मात्रै सहकारीको सञ्चालक हुन पाउने व्यवस्था गरेको छ ।
यसरी राष्ट्र बैंक र सहकारी नियमन प्राधिकरण जस्तो नियामक निकाय र नेपाल सरकारले एक समयमा एक भन्दा बढी सहकारी संस्थामा सञ्चालक हुनु नपाउने व्यवस्था गरेपनि सहकरी अभियानको नेतृत्व गर्ने बचत तथा ऋण सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंकमा नै दोहोरो पदमा बस्ने गरेको पाइएको छ ।
समग्र सहकारी क्षेत्रमा सुशासन प्रवर्धनका माध्यमबाट सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तहरु स्थापित गरी सहकारीलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको एक सशक्त मेरुदण्डका रुपमा अंगिकार गर्ने सवालमा सहकारी अभियान र नियमनकारी निकायको साझा दायित्व भएको विभागले उल्लेख गरेको छ ।
यस्तो सवालमा कानून तथा नियमनकारी निकायका निर्देशनको परिपालना गर्नु स्वार्थको द्वन्दका कारणले हुनसक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको कानून बमोजिमको वैधानिकता कायम राख्नु पर्ने सवालमा सबै सचेत र सजक हुनुपर्ने विभागले जारी गरेको निर्देशनमा उल्लेख छ ।
‘सहकारी संस्थाहरुको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरुले सहकारी संस्थाहरुको अनुगमन, निरिक्षण,नियमन तथा सुपरिवेक्षणका क्रममा उल्लेखित कानूनी प्रावधानको परिपालनाको अवस्था समेत हेरी परिपालना नभएको पाइएमा सहकारी ऐन २०७४ तथा नियमावली, २०७५ अनुसार कारवाही गर्न समेत विभागले आह्वान गरेको छ ।


