
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार तीन महिना अर्थात् साउनदेखि असोजसम्म ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ३५ दशमलव ४ प्रतिशतले धेरै हो ।
राष्ट्र बैंकका अनुसार असोज एक महिनामै २ खर्ब १ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । पहिलो पटक एकै महिनामा २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यस्तै तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १ लाख १० हजार ६५४ जनाले अन्तिम श्रम स्वीकृति र ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
यस्तै विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ११ दशमलव ३ प्रतिशतले बढेको हो ।
यस्तै तीन महिनासम्म चालू खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात ८९ दशमलव ६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामा कुल वस्तु आयात १९ दशमलव ८ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा १२ दशमलव २ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
यस्तै गएको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।


