
काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो ।
गएको वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ५ प्रतिशत अर्थात् झन्डै ३ लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।
यो गिरावट मुख्यगरी कात्तिक तेस्रो हप्ता भएको वर्षाका कारण हुने भएको हो । कात्तिक तेस्रो हप्ताको वर्षाले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड रुपैयाँको क्षति भएको तथ्याङ्क छ ।
सूचना अधिकारी जोशीका अनुसार बितेका ४/५ वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने प्रारम्भिक अनुमान थियो ।
तर धान पाक्ने समयमा भएको वर्षाले किसानले समयमै धान काट्न नपाएका र काटेको धान उठाउन नपाएका कारण क्षति भएको छ । यस्तै धान रोप्नका लागि समयमा पानी नपरेकाले पनि उत्पादन घटाएको छ ।


