
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बिहान एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराउनुभएको छ । यसअघि प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाण्डौ जानुभएको र आफूले स्वास्थ्य लाभको कामना गरेको निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले बताउनुभएको थियो ।
तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो । निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले प्रदेशको अस्मितालाई समाप्त पारेको बताउनुभएको छ । विश्वासको मत नपाउने भएपछि सोनलले अस्ति शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।


