
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको छ ।
आज भूमि व्यवस्था मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले भूमि सुधारका कार्यक्रम लागू भए पनि अझै पनि केही समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू–उपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उहाँले बताउनुभएको छ ।
त्यस्तै मन्त्री सिन्हाले पालिकालाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले भूमि बैंकको स्थापना गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो ।
यसअघि मन्त्री सिन्हाले हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।