
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु. २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु. १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।
ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु. पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु. पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।
सम्पत्ति बिमाको ५३८, मोटर बिमा एक हजार ७७८, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका १३२, परिवहन बिमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् ।
प्रदेशगत आधारमा कोशी ३२२, मधेस २४६, बागमती एक हजार ३४३, गण्डकी १८४, लुम्बिनी २०२, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश १५९ वटा बिमा दाबी परेका प्राधिकरणले जनाएको छ ।