
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।
आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।
अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो । यो विधि हटेसँगै अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना हुनेछ ।
२ स् ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।
साथै यसअघि भारित औसत गणनाका क्रममा त्रुटि समेत पाइएको थियो । नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नभएकाले अहिले भारित औसत गणना विधि हटाउनुपर्ने माग ब्रोकरले पनि गर्दै आएका थिए ।
साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो ।
त्यतिबेला भारित औसत गणनामा प्राविधिक त्रुटि भएको भन्दै नेप्सेले क्षमायाचनासहित अंक सच्यायो । अन्ततः भारित औसत गणनाको त्रुटि सच्याएपछि नेप्से ७ अंक बढ्न पुगेको थियो ।