
फुङलिङ । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो ।
खोलाले दुई वटा स्काभेटर र दुई वटा टिप्पर बगाएका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार २ वटा स्काभेटर भने पावर हाउसदेखि करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेको छ ।
यस्तै, टिप्पर भने फेला नपरेका कारण खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । स्काभेटर र टिप्परको नम्बर खुल्न नसकेको पनि उहाँको भनाइ छ । घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।