
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको चुनाव पर्सि बुधवार हुने भएको छ । सभामुख देवराज घिमिरेले सभापति चयनका लागि भदौ ११ गते बुधवारको मिति तोक्नुभएको संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।
चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार सभामुख घिमिरेले आज तालिका तोक्नुभएको हो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि सभापति पद रिक्त हो ।
प्रतिनिधिसभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान गरेको छ । दलीय सहमतिका आधारमा राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेकाले अन्य कुनै दलले सभापति दाबी गरेका छैनन् ।