२०८२ भदौ ६, शुक्रवार , ११:४०:१८ बजे

Sajhamanch
'

नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिमा ९ जना सदस्यहरु चयन

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को तदर्थ समितिमा नौ जना सदस्यहरूसहित विभिन्न उपसमितिहरू गठन भएका छन् । एनओसीभित्र चल्दै आएको विवाद र उत्पन्न अन्यौलता समाधान गर्ने भन्दै सरकारले तदर्थ समिति बनाएको थियो । एनओसीको तदर्थ समितिको समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन हुनुभएको छ ।

कमिटीले हिजो काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिएको हो । समितिको सदस्यहरूमा राजिवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, वृजेन्द्र हमाल र रवि राजकर्णिकार हुनुहुन्छ । नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै पहलमा ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ समितिलाई साँचो हस्तान्तरण गरिएको थियो ।

राखेपको ११९ औँ बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानूनी भन्दै निर्वाचनलाई खारेज गरेको थियो । पत्रकार सम्मेलनमार्फत आउँदो कार्ययोजना पनि सार्वजनिक गरिएको छ । तदर्थ समिति गठनबारे आईओसी तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने, समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, सदस्य खेल सङ्घ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने तथा ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानाकारी दिइएको छ ।

त्यसैगरी जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र सङ्घहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने, एनओसीसँग आबद्ध खेल सङ्घहरूको समस्या समाधानका लागि पहल गर्ने एवम् विधानअनुसार साधारणसभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढङ्गले निर्वाचन गराइ नयाँ नेतृत्व चयन गरिने तदर्थ समितिले जनाएको छ ।

सम्बन्धित खबर