२०८२ भदौ ३, मङ्गलवार , ०२:०४:३५ बजे

Sajhamanch
'

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कांग्रेस र एमालेले हस्ताक्षर सङ्कलन गरे

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने गरी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेका छन् ।

उपसभामुख रानाले आफूसहित ५ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा आचरणमाथि प्रश्न उठाउँदै सत्ता गठबन्धनबाट संविधानको धारा ९१ को उपधारा (६) अनुसार उहाँलाई हटाउन पहल भइरहेको हो ।

उपसभामुख राना अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँ व्यक्तिगत भ्रमणमा अमेरिका रहेका बेला पदबाट हटाउने तयारी भइरहेको हो ।

संविधान अनुसार सभामुख वा उपसभामुख हटाउनका लागि संसद्को दुई तिहाइ बहुमत अर्थात् १८४ मत आवश्यक पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८, एमालेको ७८ सिट रहेको छ । एमालेका सांसद टोपबहादुर रायमाझी र कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बन रहेकाले मतदान प्रक्रियामा भाग लिन पाउँदैनन् ।

यस्तै सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) को ७, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ४ सिट रहेको छ । अहिले सत्ता गठबन्धनसँग १८१ सङ्ख्या छ ।

बाँकी ३ जनाका लागि नागरिक उन्मुक्ति (नाउपा) वा जनता समाजवादी पार्टी (जसपा) नेपाल वा अन्य विपक्षी दलका सांसदले समर्थन गर्नुपर्ने हुन्छ । उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि गठबन्धनलाई सहज हुने देखिन्छ ।

यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो ।

त्यस्तै उपसभामुख रानालाई पदबाट हटाउने तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आन्तरिक छलफलमा जुटेको छ ।

सम्बन्धित खबर