
काठमाडौँ । मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।
विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
रोल्पाको पुतलाचौर,ग्राम्जिममा पहिरोका कारण शहिदमार्ग १४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । पश्चिम रुकमको चौखा खोला रिजगाड, उसुमखोला र छलगाडमा पहिरो गएकाले भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरोजाँदा अरनिको राजमार्ग १६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । रसुवागढी स्याफ्रुबेंसी सडकमा दोस्रोपटक आएको बाढीले क्षति गर्दा तीन सातादेखि पूर्ण रूपमा अवरुद्ध छ भने मितेरी पुल बगाएको डेढ महिना बित्न लाग्दासम्म बेलिब्रिज जडान हुन सकेको छैन ।
यसैगरी तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। रेमिट हाइड्रोले बेलिब्रिज जडान गर्ने पहल भएको विभागले जनाएको छ ।
संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि कोशी राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन विभागले उपकरण परिचालन गरिरहेको जनाएको छ ।