
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
रघुगङ्गा गाउँपालिका-४, दग्ना र वडा नं. ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासि खसेको सुख्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली बेनीबाट हिँडेको छ । पहिरोमा परेर मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको छ । घाइते भएकाहरूको उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइँदै छ । मृतकको नाम खुले पनि ठेगाना र घाइतेको विवरण भने आउन बाँकी छ ।