२०८२ भदौ २, सोमवार , ०४:२१:४५ बजे

Sajhamanch
'

अलैँचीको भाउ ७ वर्षयताकै उच्च

सोमवार, भदौ २, २०८२

झापा । यस वर्ष उत्पादनको शुरुआती चरणमा अलैँचीले उच्च भाउ पाएको छ । ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीको खरिदरबिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा आज प्रतिमन अर्थात् ४० किलोको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ यही समयमा सात वर्षयताकै उच्च रहेको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताउनुभयो ।

२०७५ सालको भदौमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि ओरालो लागिरहेको भाउ गएको वर्षदेखि उच्च रूपमा बढेको हो । भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत रहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

नेपालका ४२ वटा जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पहाडी जिल्लामा धेरै उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर ७ अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ुब्रान्डिङु भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्‍याउन सकिरहेको छैन ।

सम्बन्धित खबर