२०८२ भदौ २, सोमवार , १२:२१:०५ बजे

Sajhamanch
'

चरन क्षेत्र र छाडा कुकुरले भेडापालन सङ्कटमा

सोमवार, भदौ २, २०८२

भोजपुर । सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो ।

चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडापालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडापालन व्यवसाय छाडेका छन् ।

कृषक कठेतले भने, ‘सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।’

मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडापालन गरिरहेका छन् । राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

एउटा वनमा चराएवापत प्रति भेडीगोठ रु पाँच सयदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्छ । करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भने, ‘वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु. ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।’

छाडा कुकुर पनि भेडापालक किसानका लागि ठूलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए । गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब १०० को हाराहारीमा भेडा मारेको उनले बताए । उनले भने, ‘कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।’

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । १०० ओटासम्म भेडा भए वार्षिक रु. चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ ।

सम्बन्धित खबर