२०८२ भदौ १, आइतवार , ०४:११:२२ बजे

Sajhamanch
'

नेवार समुदायको परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेवार समुदायको परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति निकालेर यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरेको जानकारी गराएको हो ।

मन्त्रालयले गएको वर्ष भदौ ३१ गतेको निर्णय अनुसार कार्यविधि बनाएर सूचीकरणका लागि आह्वान गरेको थियो । १०५ वटा आवेदन परेकोमा यस वर्ष यःमरी मात्रै सूचीकरणमा परेको हो ।

ललितपुरको नेवार समुदायका व्यक्तिहरूले प्रक्रिया र प्रमाणहरू पेश गरेपछि मूल्याङ्कन र सिफारिश समितिको सिफारिश अनुसार निर्णय भएको मन्त्रालयले जनाएको छ ।

नेपाल भाषामा यःमरीको अर्थ मन पर्ने रोटी हो । चामालको पिठोको रोटिभित्र चाकु राखेर बनाइने यःमरी नेवार समुदायको सांस्कृतिक पर्व हो । नेवार समुदायले धान्य पूर्णिमालाई यःमरी पुन्हीका रूपमा मनाउने गर्छन् ।

मन्त्रालयका अनुसार विभिन्न समुदायहरूको पहिचान एवम् अभिलेखीकरणमार्फत अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कामलाई निरन्तरता दिन यो वर्षदेखि सूची निकाल्न थालिएको हो ।

अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रूपमा बसोवास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै तथा अभ्यास भई आएका सांस्कृतिक विधाहरू हुन् ।

मन्त्रालयले मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान र जात्रा पर्वहरू, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरन, आभूषणसम्बन्धी ज्ञान लगायत १० वटा क्षेत्रका सांस्कृतिक विधा छुट्याएको छ ।

सम्बन्धित खबर