२०८२ भदौ १, आइतवार , ०१:५०:१६ बजे

Sajhamanch
'

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ : प्रधानमन्त्री ओली

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले जानकारी दिनुभएको हो ।

‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

उहाँका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो ।

जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ र बाहिरिँदा ८०, बस र ट्रकले आउँदा २६० र फर्कँदा दुई सय तिर्नुपर्नेछ ।

त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाण्डौ आउँदा ६०० र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल दुई किलोमिटर ६८८ किलोमिटर लम्बाइको सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।