
काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाको निधन भएको छ । यस्तै ५८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका दुई सय २१, चट्याङका २४५, सर्पदंशका ७७ घटना घटेका छन् ।
त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् ।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति रु. ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १४० प्रहरी परिचालन गरिएको छ ।