
विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ ।
५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट शुरु भइ विभिन्न चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा आई समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ । वर्षौं पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हो ।
रथयात्रामा नेपाल भारतका हजारौं भक्तजन सहभागी हुन्छन् । रथयात्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा बिदा दिएको छ । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको सुरुवात भएको थियो । त्यसयता निरन्तर रथयात्रा भइरहेको छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।