
सिन्धुपालचोक । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।
दुई हप्ताभन्दा बढी समयअघि भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाउन नसक्दा गाडी चलाउन मात्रै नभई पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको उहाँको भनाइ छ । पहिरो पन्छाउने प्रयास सरकारी स्तरमा नभएको गुनासो उहाँले बताउनुभयो ।
यसैबीच, चरिकोटको सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने बताउनुभयो ।