
काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ । बितेको २४ घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक सबैतिर पानी परेकोमा अहिले पनि सुदरपश्चिम प्रदेशबाहेक धेरै ठाउँमा पानी परिरहेको हो ।
काठमाण्डौ उपत्यकासहित आसपास र पश्चिमतर्फ गण्डकी र लुम्बिनी प्रदेशमा भने अन्यत्रको तुलनामा ठूलो पानी परेको छ ।
बितेको १२ घण्टामा उदयपुरको गाईघाटमा १ सय २ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै इलामको कन्याम र सप्तरीको बारमझियामा १२ घण्टामा ८९ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
हिजोदेखि मधेश प्रदेशमा पनि राम्रो वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दिउँसो र राति सबै प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच वर्षाले सप्तकोशी नदीमा पानीको बहाव वृद्धि भइरहेको छ । मङ्गलवार रातिदेखि पहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।
दिउँसो पानीको बहाव १ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड पार भएपछि कोशी ब्यारेजमा ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् । यस्तै खतराको सङ्केत स्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ ।
वर्षापछिको पहिरोका कारण देशका कतिपय सडक अवरुद्ध बनेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर आउँदो २४ घण्टा बाढी, पहिरो, डुबानलगायतका घटनाप्रति सजग रहन आग्रह गरेको छ ।