२०८२ साउन २८, बुधवार , ०२:१२:३३ बजे

Sajhamanch
'

फूल उत्पादनमा वृद्धि हुँदा आयात घट्यो

बुधवार, साउन २८, २०८२

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख रुपैयाँ बराबरको फूल आयात गरिएकोमा गएको आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको नेपाल फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

एशोसिएशका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा १५ करोड रुपैयाँले आयातमा कमी आएको छ ।

आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख रुपैयाँ बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गएको आर्थिक वर्षमा दुई करोड १३ लाखको निर्यात भएको छ ।

जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा फूल निर्यात हुने गरेको छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रूपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्णरूपमा आयात रोक्न नसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुरलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ ।

सम्बन्धित खबर