२०८२ साउन २५, आइतवार , १२:२१:२२ बजे

Sajhamanch
'

मूल्य बढेसँगै भोजपुरमा अलैँची खेती विस्तार

आइतवार, साउन २५, २०८२

भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा लागेका छन् । गएको वर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका हुन् ।

टेम्केमैयुङ–५ का किसान शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्या बढेको छ । केही वर्षअघि मूल्य घटेपछि विस्तारमा कमी आएको भए पनि अहिले बजारमा राम्रो मूल्य पाउन थालेपछि उत्साह बढेको उहाँको भनाइ छ । टेम्केमैयुङ–५ मा झन्डै डेढ सय किसानले व्यावसायिक रूपमा अलैँची खेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले झन्डै ५९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची उत्पादन भइरहेका छन् । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्थर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरलगायतमा अलैँची खेती बढी हुने गरेको छ ।

अलैँची व्यवसायी महासङ्घले रोग र कीरा नियन्त्रणका लागि हरेक अलैँची जोनमा एक कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । राज्यले प्राविधिक सहयोग गरे किसानले अझ बढी आम्दानी लिन सक्ने महासङ्घले जनाएको छ । माटो परीक्षण र नयाँ नर्सरी स्थापना गर्न सके अलैँची भरपर्दो आयस्रोत बन्न सक्छ ।

सम्बन्धित खबर