२०८२ साउन १९, सोमवार , ०१:३१:५२ बजे

Sajhamanch
'

इरानको परमाणु कार्यक्रमलाई पाकिस्तानको समर्थन

सोमवार, साउन १९, २०८२

झापा । पाकिस्तानले इरानको परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई समर्थन गरेको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हालै पाकिस्तान भ्रमणमा रहनुभएका इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँगको संयुक्त कार्यक्रममा पाकिस्तान शान्तिपूर्ण परमाणु शक्ति हासिल गर्न चाहने इरानको अधिकारसँग सहमत रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री शरीफले हालै इरानमाथि इजरायली हमलाको निन्दा गर्दै इरानले आफ्नो सुरक्षाका निम्ति देखाएको तत्परताको प्रशंसा समेत गर्नुभयो । इरानी राष्ट्रपति पेजेश्कियानले इजरायल अस्थिरताको एजेन्डामा लागेको भन्दै मुस्लिम देशहरू शान्तिका लागि एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । दुवै नेताबीच आतङ्कवाद विरोधी साझा दृष्टिकोणका साथै क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनको प्रतिबद्धता जनाइएको खबरमा भनिएको छ ।

पाकिस्तानको सरकारी समाचार संस्था एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार, पाकिस्तान र इरानबीच व्यापार, कृषि, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, नवप्रवर्तन र समुद्री सुरक्षा लगायतका क्षेत्र समेटिएका १२ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी सम्झौताबाट दुई देशबीचको रणनीतिक साझेदारी थप सुदृढ हुने विश्वास गरिएको छ ।

सम्बन्धित खबर