
काठमाडौं । पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् ।
एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्टेम्बरमा सात खेलको त्रिदेशीय टी–२० शृङ्खला हुने भएको हो । इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता शारजाहमा हुनेछ ।
अगस्ट २९ देखि सेप्टेम्बर ७ सम्म हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।
आईसीसी टी–२० वरीयतामा अहिले पाकिस्तान आठौं स्थानमा छ । यस्तै अफगानिस्तान नवौं र यूएई १४औं स्थानमा छन् ।
एशिया कप पनि सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुनेछ । १७औं संस्करणको एशिया कप टी–२० फर्म्याटमा हुँदैछ ।