२०८२ साउन १५, बिहिवार , ०३:५४:१६ बजे

Sajhamanch
'

गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री

बुधवार, साउन १४, २०८२

पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताउनु भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताउनु भयो ।

‘श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले देशलाई स्थायित्व दिएको छ,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पत्याउने वातावरण बनेको छ ।’

देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गर्नु भयो । उहाँले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताउनु भएको छ। पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भन्नुभयो, ‘पछिल्लो पटक मैले हिउँविनाको खैरो (ग्रे) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।’

उहाँले नेपालका छिमेकी मुलुकहरूमा देखिएको बाढी र नेपालमा पनि खडेरी तथा अतिवृष्टिको जोखिम बढेको बताउनु भयो । ‘यो समस्या हाम्रो कारणले मात्र भएको होइन, तर यसको सबैभन्दा ठुलो मार हामीले खेपिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबर