
झापा । विश्व स्वास्थ्य सङ्कठन (डब्लुएचओ)ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ । गाजामा पुनः राहत सामाग्रीको वितरण शुरु भएपछि डब्लुएचओले यस्तो बताएको बीबीसीले जनाएको छ ।
इजरायलले गाजाको केही भागमा हरेक दिन १० घण्टा सैनिक कारबाही रोकिने बताउँदै राहतको मार्ग खुला गर्ने निर्णय गरेपछि जोर्डन र संयुक्त अरब इमिरेट्सले हिजो गाजामा २५ टन राहत सामग्री हवाईमार्गबाट पठाएका छन् ।
साथै इजिप्ट र जोर्डनबाट राहत बोकेको ट्रक पनि गाजा प्रवेश गरेका छन । तर, राहत मार्ग नजिकै इजरायली गोलीबारीमा कम्तीमा नौ जना मारिएको र ५४ जना घाइते भएका खबरमा उल्लेख छ ।
अस्ति शनिवार युद्धविराम शुरु भएको झन्डै एक घण्टापछि गाजाको एक आवासीय भवनमा आक्रमण भएको थियो । मध्य गाजाको नत्जारिम कोरिडोरमा संयुक्त राष्ट्रसंघको राहत पर्खेर बसेका नागरिकहरूमाथि गोली चलाइएको हो ।
इजरायली सेनाले शंकास्पद समूह नजिक आएपछि चेतावनी स्वरूप गोली चलाएको दाबी गर्दै घाइते वा मृतकबारे जानकारी नभएको जनाएको छ । सहायता संस्थाहरूले सीमित मात्रामा राहत प्रवेश गराउँदा अराजक अवस्था बढ्ने चेतावनी दिएका छन् ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धको लक्ष्य प्राप्त नभएसम्म लडाइँ जारी रहने बताउनुभएको छ । उहाँले सुरक्षित मार्गहरू पहिले पनि भएको र अब झन् औपचारिक भएको बताउनुभएको छ । संयुक्त राष्ट्रले भने इजरायलले राहत संकलनमा अनेकौं अवरोध सिर्जना गरिरहेको आरोप लगाउँदै आएको छ ।