
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको हो ।
स्रोतका अनुसार, समितिले बिहीबार सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै टेलिग्रामलाई कारबाहीको दायरामा ल्याउन भनेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्र बिहीबार प्राप्त भएको जानकारी दिनुभयो।
‘पत्र आएको छ, तर अहिल्यै बन्द गर्नेभन्दा पनि त्यसमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि भए नभएकोबारे बुझ्न भनिएको छ’, उहाँले भन्नुभयो, ‘त्यसबारे हामीले सम्पत्ति शुद्धिकरण विभाग, नेपाल प्रहरी लगायतका निकायलाई नै सोध्छौं, त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ ।’
स्रोतका अनुसार, समितिको हालै बसेको बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले टेलिग्राममार्फत ठगीसहितका अपराधिक गतिविधि बढेको र त्यो सम्पत्ति शुद्धीकरणसँग समेत जोडिएको ब्रिफिङ गरेका थिए । सम्भवतः यसबारे आइतबार केही निर्णय हुने ठाकुर बताउनु हुन्छ ।