
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ११ महिना अर्थात् साउनदेखि जेठसम्म १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो गएको वर्षको यही अवधिको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढी हो । यो वर्षको जेठ महिनामा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च रेमिट्यान्स हो ।
यस्तै ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख आठ हजार ६७ छ ।
अघिल्लो वर्षको यही अवधिमा चार लाख २१ हजार ३५६ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ६१ हजार २१० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।