२०८२ असार २३, सोमवार , ०९:५४:४३ बजे

Sajhamanch
'

सहकारीका बचतकर्ताको पौने ४ अर्ब रकम फिर्ता

सोमवार, असार २३, २०८२

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गरेको छ ।

समितिका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार सात सय ३० रुपैयाँ बचत हिनामिना, अपचलन र दुरुपयोग भएको उजुरी दिएका थिए ।

अब ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ ।

समितिले अहिलेसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकोमा तीनवटा सहकारीको रकम फिर्ता र हिसाब मिलान गरिरहेको छ । गएको कात्तिकदेखि असार १५ गतेसम्म सङ्कलित २९ करोड ८२ लाख आठ हजार रुपैयाँ १२८ सहकारीका ५६ हजार १०६ जनालाई बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरिएको छ ।

समितिको अहिलेसम्मको अध्ययनबाट बचतकर्ताको अपचलन भएको शतप्रतिशत रकम फिर्ता दिनसक्ने सम्भावना न्यून भएको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समितिले सहकारीको ऋण असुली, सम्पत्ति बेचबिखन र सङ्कलित रकम फिर्ता गर्ने कामलाई योजनाबद्ध रुपमा अघि बढाइरहेको सदस्य काशिचन्द्र बरालले बताउनुभयो ।

सम्बन्धित खबर