
काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय सातौं स्थानमा छ ।
अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकमा नेपाली महिला टोलीले लाओससँगको खेलबाटै एक सयौं खेल पूरा गर्दैछ । नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तानले पनि आजै श्रीलङ्कासँग खेल्दैछ ।
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले हिजो आयोजित खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् ।
यस्तै नेपालले दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।