
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार दीपेन्द्रले केही महिना अगाडि नै राजीनामा दिएका थिए । दीपेन्द्रको राजीनामा स्वीकृत पनि भइसकेको डीआईजी घिमिरेको भनाइ छ ।
दीपेन्द्र सहायक हवलदारमा कार्यरत थिए । चीनमा सम्पन्न १९औं एशियाली खेलकुदअन्तर्गत ट्वान्टी २० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेपछि उनलाई प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा गरिएको थियो ।
उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाएका थिए। २०७३ सालमा सेवा प्रवेश गरेको दीपेन्द्र २०८० सालमा बढुवा भएका थिए।
त्यसको दुई वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन्। उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए । दिपेन्द्रले घरायसी कारण देखाएर राजीनामा दिएको बताइएको छ ।