
काठमाडौं । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेले टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
न्यौपानेलाई एन्फाका कार्यवाहक महासचिव बद्री भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधारलगायतको उपस्थितिमा नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।
आउँदो सेप्टेम्बर ३ देखि ९ सम्म हुने २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल, ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह ‘एच’ मा रहेका छन् । यो समूहको खेल ताजकिस्तानमा हुनेछ ।
प्रतियोगितामा ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । आयोजक साउदी अरेबिया यसअघि नै छनोट भइसकेको छ । प्रतियोगिताबाट ११ समूह विजेता र ४ उत्कृष्ट उपविजेता एशियन कपमा छनोट हुनेछन् ।