
काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको खेल बराबरीमा सकिएको छ ।
समूह ‘एच’ अन्तर्गतको खेलमा रियल म्याड्रिडले मेक्सिकन क्लब पाचुकालाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।
रियलका लागि जुड बेलिङ्हम, अर्डा गुलेर र कप्तान फेडेरिको भाल्भेर्देले गोल गरे । पाचुकाका एलियास मोन्टिएलले एक गोल फर्काए । अहिले रियल म्याड्रिड २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै समूह ‘जी’ को अर्को खेलमा म्यानचेस्टर सिटीले यूएईको अल अइनलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा पुगेको छ । खेलमा पाँच फरक खेलाडीले गोल गरेका थिए ।
त्यस्तै समूह ‘एच’ कै अर्को खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्ग र साउदी अरबको अल हिलालबीचको खेल बराबरीमा सकिएको छ । बराबरीसँगै दुवैले १–१ अङ्क जोडेका छन् ।