
काठमाडौं । मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर एक बलमा १३८ रनमा अलआउट भयो ।
सिङ्गापुरका कप्तान रियान नाइकले सर्वाधिक ५३ रन र आहान वुथान्डमले ३८ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले चार विकेट लिए । यस्तै सचिन भट्टले तीन, अभय यादव र शुभम खनालले समान एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।