
काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ भएको हो ।
पर्सिदेखि मलेशियामा शुरू हुने प्रतियोगिताका लागि क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् ।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले आइतवार सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।
यस्तो छ नेपाली टोली–
विपिनप्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही