
काठमाडौं । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ जना खेलाडी टिममा आबद्ध हुन असफल भएका छन् ।
नेपालबाट सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, विपिन शर्मा र शेर मल्ल ड्राफ्टमा रहेका थिए । तर आज भएको १५औं संस्करणको बीबीएल ड्राफ्टमा नेपालका खेलाडी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन् । आज भएको ड्राफ्टबाट ८ वटा टोलीले १५ जना खेलाडी अनुबन्ध गरेका छन् ।
सन्दीपले यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट बीबीएल खेलिसकेका छन् । सन्दीप र ललित राजवंशी गएको संस्करणको बीबीएल ड्राफ्टमा सहभागी भए पनि उनीहरूलाई कुनै पनि टोलीले आबद्ध गरेनन् ।
बीबीएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर गरी ८ वटा टोली छन् ।