२०८२ असार ५, बिहिवार , ०१:०८:१८ बजे

Sajhamanch
'

निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह

बिहिवार, असार ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् ।

बुधबार नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूसँग भेटेका थिए । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नै भेट्न पुगेका थिए । त्यसबेला निजामती विधेयकको विषयमा छलफल भएको थियो ।

खासगरी निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रापधानप्रति प्रधानमन्त्री ओलीको चासो छ ।

राजय व्यवस्था समितिले हाल ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्‍याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ । अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ । राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ ।

१ असारमा प्रतिनिधि सभामा पेस भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा रहेका प्रावधानहरू उपर शीर्ष नेताहरू नै संवादमा रहेका हुन् ।

संसदीय समितिबाट सर्वसम्मत रुपमा पास भएर अगाडि बढेको विधेयक सभामा पुगेर अड्किँदा राम्रो सन्देश नजाने कांग्रेस नेताहरूको भनाइमा प्रधानमन्त्री ओलीले केही समय मात्रै पर्खिन भनेका छन् ।

प्रधानमन्त्रीले नै पर्खिन भनेपछि त्यसअनुसार प्रतिनिधि सभाको क्यालेन्डर समेत तयार भएको छ । सभामा रहेको विधेयक कहिले अडाडि बढाउने यकिन नै नगरी प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ ।