
झापा । अमेरिका र चीनबीच आज बेलायतको लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदैछ । दुई देशबीच चलिरहेको व्यापार युद्ध समाधान गर्ने उद्देश्यले लन्डनमा नयाँ चरणको वार्ता हुन लागेको बीबीसीले जनाएको छ ।
गएको शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्ताका लागि वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डल लन्डन जान लागेको घोषणा गरेका थिए। चीनले पनि उपप्रधानमन्त्री हे लिफेङले अमेरिकासँगको वार्तामा भाग लिने पुष्टि गरेको थियो ।
गएको हप्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको टेलिफोन कुराकानीपछि नयाँ वार्ताका लागि बाटो खुलेको थियो । सीसँगको कुराकानीलाई ट्रम्पले निकै राम्रो वार्ता भनेर वर्णन गरेका छन् । गएको फेब्रुअरीमा व्यापार युद्ध शुरू भएदेखि दुई नेताहरूले पहिलो पटक फोनमा कुराकानी गरेका थिए ।
अमेरिका र चीनबीच गएको मे महिनामा स्विट्जरल्यान्डमा वार्ता भएको थियो । त्यो वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रहरूले आपसी व्यापारमा लाग्ने सामानहरूमा आयात कर घटाउन अस्थायी सहमति थरेका थिए ।
त्यसपछि अमेरिकाले चिनियाँ वस्तुमा लगाएको कर ३० प्रतिशतमा झारेको थियो । चीनले पनि अमेरिकी वस्तुमा लगाएको कर १० प्रतिशतमा घटाउँदै केही महत्त्वपूर्ण खनिजको निर्यात खोल्ने वाचा गरेको थियो । तर त्यस बेलादेखि दुवै देशले एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।
चीनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले युद्धविरामको बाबजुद पनि मे महिनामा देशको निर्यात विश्लेषकहरूले अपेक्षा गरेभन्दा कम रहेको देखाएको छ ।