२०८२ जेठ २५, आइतवार , ०९:२६:१६ बजे

Sajhamanch
'

बाजुराको बाम्का बजारमा आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान

आइतवार, जेठ २५, २०८२

बाजुरा । बाम्का बजारमा अस्ति शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ ।

क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बानियाँको संयोजकत्वमा समिति गठन गरेको वडा–६ का अध्यक्ष हेमराज जैशीले जानकारी दिए।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि तीन तहका सरकार र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको त्रिवेणीका मेयर कर्णबहादुर थापाले बताउनुभयो । बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले तत्कालका लागि एक लाख राहतस्वरुप सहयोग गरेको छ ।

अस्ति शुक्रवार दिउँसो ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको थियो । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो तत्कालै निभाउन समस्या भएको थियो ।

विस्थापित परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

सम्बन्धित खबर