२०८२ जेठ २३, शुक्रवार , ०४:३०:३५ बजे

Sajhamanch
'

झापामा सहकारीका ऋणिले कर्मचारीलाई छप्काउँछु भनेर धम्क्याए

शुक्रवार, जेठ २३, २०८२

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सोही संस्थाका एक ऋणि सदस्यले ज्यान मार्ने धम्की दिएका छन् ।

संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिने खराब ऋणिलाई पक्राउ गरी कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिसकेको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संस्थाका ऋणि सदस्य साविक बुधबारे गाविस वडा नं. ६ भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका खगेन्द्र बस्नेत क्षेत्रीले बिहीबार बिहान १०ः४५ बजे पौडेललाई फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

संस्थाले पत्रकार सम्मेलनमा ज्यान मार्ने धम्की दिएका क्षेत्री र कार्यकारी प्रमुख पौडेलसँगको सम्वादको अडियो फुटेज सार्वजनिक गर्दै घटनाको जानकारी गराएको हो । संस्थाले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग पनि गरेको छ ।

ऋणि क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख रुपैयाँ ऋण लगेको र सोबाट पाकेको ब्याज एवम् सावाँवापत सुरुको वर्षहरुमा चार लाख ७७ हजार रुपैयाँ बुझाएको जनाइएको छ । उक्त ऋणबाट पाकेको ब्याज, हर्जाना र सावाँ गरी हाल ४४ लाख २९ हजार ३४५ रुपैयाँ ऋण पुगेको जनाइएको छ ।

सो ऋण असुलीको ताकेता गर्न गएका संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समितिका संयोजक भिमबहादुर पौडेल माथि कत्ति निकालेर धाकधम्की दिएपछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

पौडेल र क्षेत्रीबीच भएको अडियो संवादमा क्षेत्रीले पर्खी तँलाई घर मै आएर छप्क्याउँछु भनेको सुनिन्छ ।

ुऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख कृष्ण पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भर्त्सनायोग्य रहेको भन्दै संस्थाले सहकारी अभियानले पनि पहल गर्नुपर्ने माग गरिएको छ।

संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिने कुराले कानुनको समेत बर्खिलाप गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारी अभियान माथि चौतर्फी आक्रमणको घटना भइरहेको अवस्थामा यस्ता घटनाले सिंगो सहकारीमा कार्यरत कर्मचारीहरुको मनोबल घटाउने र ऋण लिएर तिर्नुपर्दैन भन्ने मनस्थिति भएका व्यक्तिहरुलाई मलजल पुग्ने भएकाले निज खगेन्द्र क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाका निमित्तसमेत स्थानीय प्रशासन समक्ष माग गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ ।

एउटा सदस्यहरुले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा सावा ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने अध्यक्ष भट्टराईले बताए । उनले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएको उनले बताए । समयमा सावाँ ब्याज भुक्तानी नगर्ने सदस्यहरु ऊपर कानुनी कारबाही गर्नु संस्थाको बाध्यता हुने उनको भनाई थियो ।

कोअपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताए । यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे ।

सम्बन्धित खबर