
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन अभिनेता प्रदीप खड्का शनिबार राती फ्रान्स प्रस्थान गरेका छन् । उनी त्यहाँ कान्स मार्केट र एक फ्रान्सेली फिल्मको रेडकार्पेट प्रिमियरमा सहभागी हुनेछन् ।
उनी अभिनित फिल्म ‘एक्लो’ कान्स मार्केट(मार्चे दु फिल्म)मा सहभागी छ । स्टल खडा गरेर यो फिल्मका निर्देशक प्रदीप शाही र निर्माताहरू कान्स मार्केटमा छन् । त्यहाँ पुगेर प्रदीपले यो फिल्मको प्रवर्धन गर्नेछन् ।यसबाहेक, थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’को रेडकार्पेट र स्क्रिनिङमा उनी सहभागी हुनेछन् । यो फिल्म ग्राण्ड थिएटर लुमियरमा नेपाली समयानुसार सोमबार बिहान प्रिमियर हुँदैछ । प्राप्त उनको बुकिङ टिकटअनुसार प्रदीप यो फिल्मको प्रिमियरमा जानेछन् । कान्सको ७८ औं संस्करण अहिले जारी छ ।
बागलुङको ढोरपाटनमा सुरु भएको ‘ऐरी’को छायांकनको बीचमा प्रदीप कान्सतिर हिँडेका हुन् । आफू फ्रान्समा केही दिन रहने उनले जानकारी दिए ।प्रदीपले नेपालका छायांकन थलोको प्रवर्धन समेत गर्ने भएका छन् । यसका लागि उनले चलचित्र विकास बोर्डले तयार पारेका ब्रोसर त्यहाँ सहभागीलाई वितरण गर्नेछन् ।
‘एक्लो’का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई पनि कान्स मार्केटबाट निम्तो रहेको बुझिएको छ । तर, उनी नजाने भएपछि ‘लोकेसन’ सम्बन्धी पुस्तिका प्रदीपमार्फत कान्स लैजान लागिएको हो ।